हेटौडा । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका विषयमा हेटौंडामा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै समितिकी अध्यक्ष समिता खड्काले प्रविधि र आर्थिक संकटले सञ्चार क्षेत्रमा नकारात्मक असर पारेको बताउनुभयो। उहाँले सोसियल मिडिया र युट्युबले विज्ञापन बजार कम्याएको र मिडियाहरुमा आर्थिक संकट पैदा भएको बताउनुभयो।श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा ठूलो चुनौती रहेको बताउँदै खड्काले यसलाई लागू गर्न सबै मिडियाकर्मीको सहयोग आवश्यक रहेको बताउनुभयो। ऐनलाई कानुनी रूपमा लागू गर्दा आइपर्ने समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ।नेपाल पत्रकार महासंघ मकवानपुरका निर्वतमान अध्यक्ष हरि हुमागाईंले मिडिया टिकाउन सरकारद्वारा आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। पत्रकारहरु स्ट्रिन्जरको रूपमा काम गर्नुपरेको समस्या उहाँले उठाउनुभयो।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले मिडिया सञ्चालक र पत्रकारहरुबिच दोहोरो भूमिका नखेल्न आग्रह गर्दै सञ्चार क्षेत्रको आर्थिक संकट र चुनौतीलाई मिलेर सामना गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा पत्रकारहरुले विज्ञापनप्रतिको अनियमितता, बढ्दो मिडिया संख्याले क्षेत्रमा पारेको असर, बेतलबी र न्यून पारिश्रमिकलगायत पत्रकारिता सम्बन्धी विभिन्न समस्या उठाएका थिए।