राष्ट्रिय कविता महोत्सवमा मकवानपुरे कवि न्यौपाने सर्वोत्कृष्ट

हेटौंडा टुडे
११ असार २०८१, सोमबार ११:११

हेटौंडा । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव– २०८१ मा मकवानपुरे कवि अनिता न्यौपाने
सर्वोत्कृष्ट भएकी छिन् । दुुई दशकदेखि मकवानपुरमा रहेर सात्हित्य लेखन र संरक्षणमा सक्रिय न्यौपानेको ‘अचेल कहाँ हराइरहेका छन्– बच्चाहरू रु’कविता सर्वोत्कृष्ट घोषित भएको हो । आईतबार प्रतिष्ठानले छनौटमा परेका २५ कवितामध्येबाट सर्वोत्कृष्ट छनौट गरेको थियो । प्रतियोगिताका लागि ६०४ वटा कविता सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।

साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको निवर्तमान अध्यक्ष रहेकी न्यौपानेको फूलको विद्रोह कविता सङ्ग्रह प्रकाशन भईसकेको छ । प्रज्ञाले सर्वोत्कृष्ट कविलाई विशेष साहित्यक कार्यक्रमको आयोजना गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट ३० हजार नगदसहित पुरस्कार प्रदान गर्ने जनाएको छ ।प्रतियोगितामा बर्दियाका कवि अग्र आवाजको कविता ‘माटोको उडान’, नवलपरासीका कवि अन्जान प्रदीपको कविता ‘फूलको पोस्टमार्टम’,दाङका कवि छविलाल कोपिलाको थारुभाषाको कविता ‘पस्नक बास’,रोल्पाका कवि दिलिप बुढामगरको मगरभाषाको कविता ‘मासन्सिउ छकाल्य’,मोरङका कवि रुमानी कुलुङको कविता ‘आमाको अनुहार’,सिन्धुलीका कवि रूपक जमरा घलानको तामाङ भाषाको कविता ‘बगरला दुङाल’ ,सोलुखुम्बुका कवि रेजिना खालिङको खालिङ भाषाको कविता ‘अर्दु युम प्योक’,ललितपुरका कवि शर्मिला दुलालको कविता ‘बग्नु एक नियति’ र पाँचथरका कवि सुमन सहयात्री योङहाङको ‘कविता बिर्सिजानेहरू’, लाई पनि सर्वोत्कृष्ट घोषित गरिएको थियो ।

कविताको मूल्याङ्कन समितिमा कविहरू श्रवण मुकारुङ,महेश प्रसाईं,केशव सिलवाल ,अभय श्रेष्ठ र विमला तुम्खेवा रहेका थिए । प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल रार्ईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गरेका थिए ।

राष्ट्रिय कविता महोत्सवका अतिथि कविहरूमा बेन्जु शर्मा ,विप्लव ढकाल,पञ्चकुमारी परियार,अनील पाण्डेय,अशोक अमन,असीम सागर,गोविन्द नेपाल,जयन्ता पोखरेल ,प्रोल्लास सिन्धुलीय, विमल भौकाजी र मनोज न्यौपानेले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image