हेटौडा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ छ । हाल देशभर मनसुनी वायुको प्रभाव चलिरहेको छ त्यसको प्रभावले शुक्रबार बिहान देशभर साधारणदेखि पूर्णतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, मधेश, बागमती,र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।