आज तुलसीको विवाह गर्ने दिन अर्थात् हरिबोधिनी एकादशी । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले भगवान् हरि ९विष्णु०को विवाह लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ । आजको दिनमा विधिविधान र पूजापाठ गरी व्रत बसेर तुलसीको विवाह गर्ने प्रचलन रहेको छ ।
हरिवोधनी एकादशीको दिन आज मकवानपुरको ऐतिहासिक गढी मकवानपुरगढी दरवार परिसरमा ठुलो एकादशी मेला लाग्ने गर्दछ । गढी दरबार भित्र बंशगोपालको मन्दिर रहेको छ । आज विहानै ५ बजे देखिनै व्रतालु र जात्रा मनाउनेहरुको ठुलो भिड लागेको छ ।
मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, हेटौंडाको हटिया हर्नामाडी, बकैयाको ठिङगन लगायत मकवानपुर आसपासको जिल्ला बाट मेलामा भर्ना आउने गरेको मकवानपुरगढी वडा २ का अध्यक्ष बखान सिं पाख्रीनले बताए । ऐतिहासिक गढी दरबारमा हरेक वर्ष झैं ठुलो एकदशीमा जात्रा लाग्ने गरेको उनले बताए । व्रतालु र जात्रा अवलोकन गर्न आउनेलाई व्यवस्थित ढङगले पुजा गर्न सहज गराइएको अध्यक्ष पाख्रीनले बताए । जात्राको लागि बिशेख सुरक्षा सहित प्रहरी चौकी चौघडा, मक्रान्चुली र जीतपुरभञ्ज्याङका प्रहरी टोलीले सहज वातावरण बनाइरहेको अध्यक्ष पाख्रीनले बताए ।
दरवार परिसरमा मद्यपान र मासुजन्य किनबेच निषेश गरिएको छ । त्यस्तै आजकै दिन भीमफेदी गाउँपालिका – वडा १ स्थित त्रिखण्डी मन्दिर, र थाहा नगरपालिका वडा नंबर ४ स्थित ऋषेश्वर मन्दिरमा एकादशीको विशेष मेला लागेको छ ।
विहान देखिनै भक्तजनहरुको भीड रहेको छ । मेला हेटौंडा काठमाडौं छोटोदुरीको सडक खण्डमा पर्ने भएकाले प्रहरीको टोली खटाएर सुरक्षा व्यवस्था बडा परिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।