हेटौंडा । हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ । १२ पौष, शुक्रबार ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी रहेको हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा कार्यालयले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको १६ नम्बर वडा नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४७ वटा सूचकमा शतप्रतिशत र बाँकी सूचकमा घोषणाका लागि आवश्यक न्युनतम नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न योग्य भएको वडा कार्यालयले जनाएको छ ।
बागमती प्रदेशको राजधानी समेत रहेको यस हेटौंडा उपमहानगरपालिकाको १९ वडा मध्ये कुल १८.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १६ नम्बर वडा पुर्वी सिमानामा १७ नम्बर वडा, पश्चिममा वडा नं. ६ र १५, उत्तरमा वडा नं. १७ पर्दछ । यस्तै, दक्षिणमा निजगढ नगरपालिका पर्दछ ।
अधिकांस भागहरु ग्रामिणस्तरका रहेको यस वडा भित्र प्रशिद्ध तिर्थस्थल शक्तेश्वर माहादेव मन्दिर र मानव बस्तिहरु चिसापानी, गुरुडुङ डाँडाँ, घ्याम्पे, त्रिशुली, साजबोटे, सिरुघारी, पान्दमार, माण्डु आदी रहेका छन्। १६ नम्बर वडाका लगभग आदी भुभाग वन तथा झाडी क्षेत्रले ओगटेको छ भने खेतियोग्य भुमि प्रशस्त रहेको यस वडाको मुख्य पेशा कृषि रहेको छ ।
वडामा अवस्थित आवाशिय सुविधा सहितको जनप्रिय प्राविधिक शिक्षालयमा विभन्न जिल्ला बाट प्राविधिक, कृषि र पशु विषयको शिक्षा अध्ययन गर्न र प्रविणत प्रमाणपत्र कृषि विज्ञान संकायमा अध्ययन गर्न विद्यार्थीहरु आउने गर्दछन् । वडामा घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १६६० घरधुरी रहेको यस वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २३८० रहेको छ जसमा ११७९ बालक र १२०१ बालिका रहेका छन् ।
वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ६ वटा विद्यालयहरु सञ्चालनमा छन् ।यसैगरी २१ वटा बालसमूहरु र एउटा वडा बाल सञ्जाल रहेको छ जसमा ५२५ जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ५४५ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।
२०७९ मंसिर २४ मा वडास्तरीय अभिमुखिकरण र सामुहिक प्रतिवद्धता जाहेर गरि बालमैत्री अभियानको विजारोपण गरेसङ्गै बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, हटिया अस्पताल, विद्यालयहरु, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समिति लगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील रहि बालबालिका क्षेत्रमा निरन्तर कार्यरत छन् ।
‘बालबालिका भोलिका कर्णाधार र आजका साझेदार हुन्’ भन्ने भनाईलाई मनन् गर्दै २१ औं शताब्दीका बालबालिकालाई उक्त भनाईमाथि नै परिमार्जित गर्दै बालबालिकालाई आजैका साझेदार बनाउन सोही अनुसारका कामहरुमा सक्रिय बनाउने वडा कार्यालयको प्रयास हो ।
आजका बालबालिकालाई अभिभावक, शिक्षक र जनप्रतिनिधिले नैतिक तथा असल संस्कारयुक्त शिक्षा आर्जन गर्न सक्ने वातावरण बनाई सामाजिक कार्यमा पनि सहभागिता गराउन आवश्यक रहेको १६ नम्बर वडा अध्यक्ष एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति संयोजक रामकृष्ण कोईरालाले बताए ।
बालबालिकाको सवल भविष्य निर्माणमा घरपरिवारको साथै वडाको ठूलो जिम्मेवारी र दायित्व रहने उनले बताए । उनका अनुसार भविष्यमा वडा सञ्चालनको महत्वपुर्ण हिस्सा ओगटेको आजको बालबालिकाको क्षेत्रमा वडाले लगानी गर्दै आईरहेको छ र यसमा परिवारको झनै अहम् भूमिका रहन्छ।
बालवालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्दै गर्दा बालबालिकाले अधिकारको माग संगै उनीहरुलाई कर्तव्यबोध पनि गराउनु समेत अभिभाकिय दायित्व हो भन्ने उनको भनाई छ। हेटौंडा ६ लाई भने २७ मंसिरमा बालमैत्री वडा घोषणा गरिँदै छ ।