हेटौंडा। मकवानपुरको मनहरीमा पाटे बाघको आक्रमणबाट एक वृद्धा महिलाको ज्यान गएको छ भने सोही बाघले सोमबार बिहान ६ वटा बाख्रा मारेको छ। जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५, बसन्तपुरस्थित वडा कार्यालय नजिकै वर्ष ७२ की कान्छिमाया रुम्बाको बाघको आक्रमणबाट आइतबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आइतबार अपराह्नमा घर नजिकै बारीमा घाँस काट्न गएकी उनी अबेरसम्म घर नआएपछि आफन्तले खोजी गर्दै जाने क्रममा आफ्नो घरबाट अन्दाजी ५ सय मिटर पूर्व हेटौंडा–५ का किशोर बर्तौलाको बारीमा शरिरको विभिन्न भागमा चोट लागि मृत अवस्थामा भेटिएकी थिइन् । सोमवार बिहान स्थानीय सूर्यबहादुर मोक्तानको खोरबाट ६ वटा बाख्रा पनि मरेको अवस्थामा फेला परेको हो।
घटनास्थलमा मकवानपुरबाट प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटासहितको कमाण्डमा टोली प्रहरी पुगेर आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।