बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पूर्वाधार पुनर्निर्माणका लागि १५ करोड २५ लाख बजेट दिने निर्णय

हेटौंडा टुडे
१९ पुष २०८१, शुक्रबार १०:५९

हेटौंडा । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनः निर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बिहान बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् प्रभावित हेटौँडा काठमाडौँ सडकका लागि ११ करोड २५ लाख रुपैयाँ र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले बताए । उनका अनुसार बैठकले कुलेखानी सिस्नेरी सडक मर्मतका लागि ५० लाख रुपैयाँ, कुलेखानी महालक्ष्मी खोला फाखेल खण्ड मर्मतका लागि २५ लाख रुपैयाँ बजेट व्यवस्था गर्ने भएको छ भने सिमखोलमा बेलिब्रिज राख्न २ करोड रुपैयाँ, सिस्नेरी खण्डको सडक पुनः निर्माणका लागि ६ करोड रुपैयाँ र सिस्नेरी छैमले खण्डको सडक पुनः निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ व्यवस्था गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।

बैठकले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको उनले बताए । बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरे अनुसारको बजेट व्यवस्था गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले सङ्घीय सरकारबाट सरुवा भएर आएका सचिव वीरेन्द्र देव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश सरकारले ११ औँ तहमा बढुवा गरेका निरन्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*