प्लाष्टिक बालेर आगो ताप्नु स्वास्थ्यका लागि हानिकारक

हेटौंडा टुडे
२५ पुष २०८१, बिहीबार ११:५२

 हेटौंडा । हेटौंडा लगायत अहिले विभिन्न ठाउँहरु मा  चिसो संगै सित लहर परिरहेको छ । त्यसै गरी जाडो बढेका  कारण सामान्य परिवारले न्यानोका लागि प्लास्टिक जन्य फोहोर बालेर आगो तापेको  देखिन्छ । यसबाट निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिक र वायुमण्डलको तल्लो भागमा रहिरहन्छ । जसले स्वास्थ्यमा हानि गर्दछ ।

स्वास्थ्य तथा वातावरणविद्का अनुसार यसले बातावारण प्रदुषित बनाइ हाम्रो फोक्सोलाई समेत नकारात्मक असर पार्छ । दैनिक जीवनमा हामी हाम्रो घरवरपर वा सडक सफा राख्नका लागि वरपरको फोहोर जम्मा गरेर बाल्ने गर्दछौं । त्यसमा पनि चिसो मौसममा आगो ताप्न फोहोर बाल्ने गरिन्छ । चिसो बढेसँगै हेटौंडाका विभिन्न स्थानमा जताततै भेटिने फोहोरमा विशेषगरि प्लाष्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन्, जसलाई बालेर ताप्ने गरिन्छ ।

स्वास्थ्य तथा वातावरणविद्का अनुसार  फोहोरबाट निस्कने धुवाँमा विभिन्न हानिकारक ग्यास हुने भएकाले यसले सीधै फोक्सो ड्यामेज गर्छ र कहिल्यै निको नहुने रोग लाग्न सक्छ । फोहोरबाट निस्कने धुवाँको ग्यासलाई मास्क लगाएर पनि छेक्न सकिन्न । हेटौंडामा विहान ८ बजेदेखि ९ बजेसम्म बढी प्रदुषण हुने र मध्याह्‌न र साँझ घट्ने अध्ययनले देखाएको छ ।

यो पुसको महिना हो । यसै पनि पुस जाडोको मौसमले चिनिने महिनामा पर्दछ । हाल मौसम एक्कासि बदलिएको छ । मंसिरदेखि फागुन आधाआधीसम्म प्रायः चिसो मौसम नै रहन्छ । तापनि, पुस र माघ महिना अधिक जाडोका महिना हुन् । यस बेला अर्थात् पुस, माघमा अधिक जाडोले सताउने गर्दछ । बढी कपाउने जाडो यही मौसममा हुन्छ । हाल पनि तराईमा हुस्सु लागेको छ । शीतलहर देखापरेको छ । अस्पतालमा रुघा, खोकी, ज्वरो र निमोनियाका बिरामीहरु बढेका समाचारहरु आइरहेका छन् । जाडो बढेसँगै हामीलाई विभिन्न खालका रोगहरुले पनि सताउने गर्दछ । रोग गर्मीमा मात्र लाग्छ भन्ने कुरा गलत हो । जाडोले कतिपय ठाउँमा कठ्यांग्रिएर मानिसको मृत्यु भएको सुन्नमा आउँछ ।

जाडोले धनीलाई भन्दा गरिबलाई बढ्ता सताउने गर्दछ । अधिक चिसोका कारण शारीरिक कमजोरी भएका बुढाबुढीहरु, घररबारविहीन परिवार, मजदुर बढी पीडित हुन्छन् । यस्तो बेला उनीहरुलाई झाडापखाला लाग्ने, निमोनिया हुने, टाउको दुख्ने, छाति दुख्ने, कान रातो हुने, रुघाखोकी लाग्ने, दम बढ्ने, अनुहारमा सेतो दाग देखिने, ओठ फुट्ने, हातखुट्टा फुट्ने, चिलाउने, छालामा फुस्रोपना आउने, चिसोको एलर्जी हुने, हातखुट्टा जोर्नी सुन्निने, मुटु र मष्तिष्कमा समेत असर पारेर हृदयघात हुनेसम्मका रोग देखापर्न सक्छन् । यसकारण अधिक चिसोबाट बेलैमा जोगिनुपर्दछ ।

भन्न जस्तो सजिलो गर्न छैन । मुख्य कुरा गरिबी हो । गरिबीलाई रातारात हटाउन पनि सकिँदैन । तसर्थ, हामीसँग जे सम्भव हुन्छ, त्यसको प्रयोग गरी जाडो कम गर्ने वा चिसोबाट बच्ने उपाय अपनाउनु जरुरी छ । मकल ताप्ने, झोलिलो कुरा बढी खाने, पिउने गरेर केही हदसम्म चिसोबाट बच्न सकिन्छ । विहानको पारिलो घाममा बस्ने, पुराना नै भए पनि बाक्ला कपडा लगाएर चिसोलाई शरीरभित्र छिर्न नदिने गरेर पनि जाडोबाट बच्न सकिन्छ । बेलैमा सतर्कता अपनाए जाडोबाट बच्न त्यति कठिन हुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*