सरकारले उपलब्ध गराउँदै आएको राष्ट्रिय परिचयपत्र अब नागरिक एपमा पनि समावेश हुने भएको छ । नागरिक एपमा हाल सवारीचालक अनुमतिपत्र (लाइसेन्स), स्थायी लेखा नम्बर (प्यान)लगायत विभिन्न विवरणहरू उपलब्ध छ ।
यस एपमा अब राष्ट्रिय परिचयपत्र पनि उपलब्ध हुने भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नागरिक एपसँग आबद्ध गर्न आवश्यक प्राविधिक काम भइसकेको जनाएको छ । विभागका सूचना अधिकारी शिवराज सेढाईंले नागरिक एपमा समावेश गर्न आवश्यक सिस्टम बनिसकेको बताए ।
नागरिक एपमा काम गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले आउँदो साता राष्ट्रिय परिचयपत्र पनि समावेश हुने बताएका छन् । यससँगै नागरिक एपको आवश्यकता वा परिचयपत्रको आवश्यकता परेको ठाउँमा मोबाइल एपबाटै पनि देखाउन सकिनेछ । नागरिक एपमा राष्ट्रिय परिचयपत्र समावेश गरिएसँगै यसलाई विभिन्न सरकारी सेवामा प्रयोग गर्न सकिने व्यवस्था गरिने भएको छ । त्यस्तै गरी कुन–कुन सेवामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल चलिरहेको छ ।