
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा यही फागुन १६ र १७ गते ‘बकैया-कला साहित्य महोत्सव आयोजना हुने भएको छ। झरना साहित्यिक परिवार मकवानपुरको ३१३औं साहित्य शृङ्खला तथा ३२औं वार्षिकोत्सवको अवसरमा विशेष महोत्सव हुन लागेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले महोत्सवको विस्तृत विवरण प्रस्तुत गर्दै यस कार्यक्रमले स्थानीय तथा राष्ट्रिय स्तरका साहित्यकार, कलाकार, पत्रकार, तथा साहित्य प्रेमीहरूको जमघट गराउने जानकारी दिए।
महोत्सव मकवानपुरको बकैया-५ स्थित कर्मप्राप्ति माविको प्राङ्गणमा आयोजना गरिनेछ। बकैया गाउँपालिकाको मुख्य प्रायोजनमा सम्पन्न हुने यस कार्यक्रममा साहित्य, कला, संस्कृति, पत्रकारिता तथा शिक्षाका विभिन्न पक्षबारे चर्चा गरिनेछ। महोत्सवमा प्रतिष्ठित पुरस्कार तथा सम्मान वितरणदेखि लिएर, सांस्कृतिक कार्यक्रम, साहित्यिक छलफल, गजल तथा मुक्तक उत्सव, चित्रकला प्रदर्शनीजस्ता विविध कार्यक्रमहरू रहने सचिव मसान उपासकले जानकारी दिए ।
कार्यक्रमको पहिलो दिन विभिन्न विधामा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। साहित्य, कला तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरूलाई झरना साहित्यिक परिवार मकवानपुरले सम्मान गर्ने योजना बनाएको छ। यसै अवसरमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको चित्रकला प्रदर्शनी आयोजना गरिनेछ भने, साहित्यिक पत्रिकाको विमोचनसमेत गरिने उनले बताए ।
महोत्सवमा बकैया गाउँपालिकाका अध्यक्षसँग ‘१० प्रश्न’ कार्यक्रम आयोजना गरिनेछ, जसमा स्थानीय विकास, योजना तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने समेत उनले जानकारी दिए । महोत्सवको अर्को विशेष आकर्षण समकालीन गजल तथा मुक्तक उत्सव रहनेछ, जसमा देशभरका उत्कृष्ट गजलकार तथा मुक्तककारहरूको उपस्थिति रहनेछ। सम्मानित स्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गर्नेछन् भने नवप्रतिभाहरूलाई पनि आफ्ना सिर्जनाहरू प्रस्तुत गर्ने अवसर प्रदान गरिने उनले बताए ।
महोत्सवमा प्रदान गरिने विभिन्न प्रतिष्ठित सम्मान तथा पुरस्कारहरूमध्ये होमनाथ–टीकामाया प्रतिभा सम्मान, शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान, बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान, खडानन्द–मनमाया प्रतिभा सम्मान, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान, सञ्जीवनिबुटी साहित्य सम्मान, गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान, झरना–बकैया नवप्रतिभा पुरस्कार, खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान, ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान, र उत्कृष्ट शिक्षक सम्मान प्रमुख आकर्षण हुनेछन्।
पत्रकार सम्मेलनमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सन्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, सचिव मसान उपासक, बकैया गाउँपालिकाका जनप्रतिनिधिहरू तथा स्थानीय साहित्यिक तथा पत्रकारिता क्षेत्रमा संलग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। महोत्सवलाई सफल बनाउन आयोजक समितिले सबै साहित्य तथा कला प्रेमीहरूलाई सहभागी हुन आग्रह गरेको छ।

