
महिनावारी सम्पुर्ण महिलाहरुमा हुने गर्दछ । महिनावारी सबै महिलाहरुमा एकैनास हदैन पहिलो चोटि महिनावारी साधारणतया ११ वर्ष देखि १५ वर्ष सम्ममा भइसकिन्छ । तर अहिलेको समयमा कतिपयमा अझै चाडै पनि महिनावारी भएको देख्न सकिन्छ । महिनावारीको अर्थ के हो भन्नु पर्दा किशोरीले बच्चा जन्माउनका लागि अब उ सक्षम भयो भन्न पनि सकिन्छ । तर महिनावारी सबै महिलाहरुमा एकैनास हदैन कसैमा समयमै हुन्छ भने कसैमा ढिलो हुने गर्दछ त्यसैगरी एक महिना कट्दा पनि महिनावारी नभएमा विवाहित महिलाले गर्ने पहिलो शंका हुन्छ- गर्भ त बसेको होइन ? त्यसपछि गर्भावस्था परीक्षण गर्दा नतिजा जे आए पनि उनीहरु तनावमा हुन्छन् ।
यो समस्या विवाह नभएका र यौन जीवनमा सक्रिय नभएका महिलामा पनि देखिन सक्छ । यसो हुनुको पछाडि अस्वस्थ, हर्मोनल परिवर्तन र व्यस्त जीवनशैलीका कारण पनि हुनसक्छ । महिनावारी एक वा दुई महिनाभन्दा बढी ढिलो हुने समस्या भएमा एमेनोरियाको समस्या भनेर बुझिन्छ ।
महिनावारी कति समय कटे ढिला मान्ने भन्नुपर्दा खेरी महिनावारी सुरु भएको दिनदेखि अर्को महिनावारीको पहिलो दिनसम्मको अवधिलाई महिनावारी चक्र मानिन्छ । महिनावारीको सामान्य अवधि चक्र २८ दिनको हुन्छ । यद्यपि, एक सामान्य चक्र ३८ दिनसम्म हुनसक्छ । यदि यो अवधि चक्र यो भन्दा लामो भएमा यसलाई अनियमित वा ढिलाइ भएको मानिन्छ ।
त्यसैगरी महिनावारी ढिलाइ हुनुमा धेरै थरीका समस्याहरुले गर्दा पनि हुन्छ । त्यस्तै महिनावारी ढिलाइ हुनुमा निम्न रोगहरुले पनि प्रभाव पारेको हुन्छ।
थाइराइड
थाइराइड हर्मोनले महिनावारी चक्र नियन्त्रण गर्न मद्दत गर्छ । तर थाइराइड हर्मोनको मात्रा अत्यधिक बढी र अत्यधिक कम भएमा महिनावारी चक्रमा दखल पर्छ । जसकारण महिनावारीमा ढिलाइ हुनसक्छ ।
उच्च प्रोल्याक्टिन स्तर
मस्तिष्कको पिट्युटरी ग्रन्थीबाट प्रोल्याक्टिन हर्मोन निस्कन्छ । प्रोल्याक्टिन हार्मोनले स्तनपान, स्तनको तन्तु विकास र दूध उत्पादन गर्छ । रगतमा प्रोल्याक्टिनको सामान्य स्तरभन्दा बढी हुँदा महिनावारी ढिलो हुनसक्छ।
५० देखि १०० एनजी/एमएलबीचको उच्च प्रोल्याक्टिन स्तरले अनियमित अवधि र बाँझोपन निम्त्याउन सक्छ । केही औषधि, संक्रमण र तनावले पनि प्रोल्याक्टिन हर्मोनको स्राव बढाउँछ ।
अत्यधिक मोटोपन वा पोषणको कमी
अधिक तौल वा मोटोपनले महिनावारी चक्रलाई असर गर्न सक्छ । अत्यधिक तौल भएमा शरीरले एस्ट्रोजन हर्मोनको मात्रा बढी उत्पादन गर्न थाल्छ । यो महिलाको प्रजनन् प्रणालीलाई नियन्त्रण गर्ने हर्मोनमध्ये एक हो । एस्ट्रोजनको मात्राले सिधै महिनावारीलाई असर गरी अनियमित बनाउँछ ।
ज्वरो र संक्रमण
कुनै संक्रमणको कारण आउने ज्वरो र पिसाब संक्रमण भएमा पनि महिनावारी अनियमित हुनसक्छ । पिसाब संक्रमणले शरीरमा एक किसिमको तनाव पैदा गर्छ । तनावले कोर्टिसल उत्पादन बढाउन सक्छ । कोर्टिसोलको मात्रा कम भएमा पनि महिनावारी ढिलाइ हुनसक्छ ।
महिनावारीमा ढिलाइ भए के गर्ने ?
महिनावारी एक साता ढिलो हुनु सामान्य हो । तर यदि महिनावारी १५ देखि २० दिनपछि पनि भएको छैन भने यौन जीवनमा सक्रिय महिलाले गर्भावस्था परीक्षण गराउनु आवश्यक हुन्छ । गर्भावस्था परीक्षणमा नेगेटिभ आएमा एकपटक थाइराइड, हर्मोनल परीक्षण गराउनुपर्छ । यी परीक्षण गर्दा कुनै समस्या नदेखिएमा एकपटक पाठेघर जाँच गर्नुपर्ने हुन्छ ।
यसबाहेक तनाव व्यवस्थापन गर्ने, पर्याप्त पानी पिउने, सरसफाइमा ध्यान दिने, शारीरिक सक्रियता बढाउने, पौष्टिक आहार बढी खाने, जंक फुड नखाने जस्ता क्रियाकलापले पनि महिनावारी नियमित गराउनमा मद्दत गर्छ ।

