
कहिलेकाहीं नसोचेको दुर्घटना हुन्छ, घरमै पनि । भनिन्छ नि दसा लाग्न कतै टाढा जानै पर्दैन यदि हुनु छ भने घरमै बसेर पनि हुन्छ। खासगरी असावधानिका कारण बच्चाहरुलाइ धेरै थरी हुन पुग्छ । जस्तै तातो तेल वा पानिले पाल्ने, उचाइबाट लड्ने, आगोले पाल्ने जस्ता घटनाहरु घट्न सक्छन् , यस्तो बेला के गर्ने ?
तुरुन्त अस्पताल पुर्याउन अनुकूल नहोला । कति गृहिणी त अत्तालिन्छन् पनि । किनभने उनीहरु मात्र घरमा भएको बेला बच्चालाई यसरी तातो पानी वा आगोले पोल्न सक्छ । यस्तो बेलामा उनीहरुलाई के गरौं, कसो गरौं हुन्छ । अचानक यस्तो घटना भएमा हाम्रो दिमागले पनि सही काम गर्दैन । यद्यपि यतिबेला आफूलाई सम्हालेर बच्चाको प्राथमिक उपचार गरिदिनुपर्छ । यस्तो बेला सबै भन्दा पहिला आगो वा तातो पानीले कति पोलेको छ ? कसरी पोलेको छ ? त्यो कति जटिल वा सामान्य छभन्ने कुरा पत्ता लगाउने र त्यसअनुसार उपचार गर्न सकिन्छ । यदि धेरै जटिल अवस्था छैन भने घरमै केही प्राथमिक उपचार गरिदिनुपर्छ ।
त्यसैगरी हामी प्राथमिक उपचार को बारे चर्चा गर्छौै।
पानी वा आगोले पोलेको भागमा छाला रातो भएको छ, फोका उठेको छैन भने पोलेको भागमा तुरुन्तै चिसो पानी लगाइदिनुपर्छ । खासगरी धारो वा भाँडोबाट भएपनि धारा बनाएर पोलेको ठाउँमा लगाउनुपर्छ । दुखाइ वा पोल्ने क्रम कम नभएसम्म लगाइरहनुपर्छ । सामान्यतया आधा घण्टासम्म धारा बनाएर चिसो पानी लगाइरहँदा राम्रो हुन्छ ।यसरी चिसो पानी लगाउँदा पोलेको ठाउँमा दुखाइ कम हुन्छ । त्यसपछि पोलेको भागको अवस्था हेरेर थप उपचार गर्ने वा नगर्ने टुंगो गर्नुपर्छ ? यसरी पोलेको छालाको सतहमा फोका उठ्न सक्छ । त्यस्तो फोका फुटाउनु हुन्न । फोका फुट्यो भने घाउमा कपडा टाँसिन सक्छ । साथै घाउ दुख्ने र संक्रमण हुने जोखिम पनि हुन्छ ।
धेरै मान्छेले के गल्ती गर्छन् भने पोलेको ठाउँमा आइस क्युब लगाउँछन् । पोलेको ठाउँमा तुरुन्त आइस लगाउनु हुँदैन । कतिपयले गोलभेंडा, गोबर लगाउँदा ठीक हुन्छ भन्ने पनि गरेको सुनिन्छ । यसरी अनुमानको भरमा घरेलु उपचार गर्दा घाउ थप जटिल बन्ने, संक्रमण हुने, पाक्ने हुनसक्छ ।बरु घिउकुमारी लगाउनु उपयूक्त मानिन्छ । यस्ले जलन कम गराउने र फोका बनिहाल्न दिदैन।
त्यसैगरी तातो पानी वा आगोले धेरै नै पोलेको छ, छाला पूरै नष्ट भएको वा गहिरो घाउ भएको छ भने कति पनि ढिला नगरी नजिकको स्वास्थ्य केन्द्र वा अस्पताल पुर्याउनुपर्छ र उपचार क्रम अगाडी बढाइहाल्नु पर्दछ।

