
हेटौंडा । चितवन जिल्लामा शनिबारबाट सुरू भएको राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एन्फा मकवानपुर फुटबल एकेडेमीले फराकिलो हार व्यहोर्नु परेको छ। चितवन जिल्ला फुटबल संघको आयोजना तथा भतपूर महानगरपालिकाको प्रवर्धनमा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एन्फा मकवानपुर ५–० गोलअन्तरले पराजित भएको हो ।
भरतपूर–७ स्थित कृष्णपुर खेलमैदानमा भएको उद्घाटन खेलमा एन्फा मकवानपुरको टिम भरतपूर–२४ को टिमसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । भरतपुर सामु निरिह देखिएको मकवानपुरको टिमले विपक्षी पोष्टमा आक्रमण नै गर्न सकेन । भरतपुरले भने मकवानपुरको पोष्टमा निरन्तर आक्रमण गरिरह्यो । झण्डै आधा दर्जन प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । प्रतियोगितामा मकवानपुरको महिलाटिम सहित अन्य ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा एन्फा मकवानपुरको महिला टिमको प्रतिनिधित्व गर्नका लागि टिम प्रशिक्षकको रुपमा मकवानपुर महिला टिमका प्रमुख प्रशिक्षक भीम लामा गएका थिए । प्रतियोगितामा प्रशिक्षक लामाको नेतृत्वमा मकवानपुरबाट २३ जना खेलाडी जान सहभागी भएका थिए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत ९ गते हुने बताइएको छ ।

