
हेटौंडा। सक्किगोनिका कलाकार कुमार कट्टेल ‘ज्रिगी’ र अर्जुन घिमिरे ‘पाँडे’को लेखन तथा निर्देशन रहेको टेलिसिरियल ‘सक्किगोनि’को उत्पादन र प्रशारण बन्द हुने भएको छ ।सिरियल नबन्नुलाई उनले तेस्रो सिजनपछिको विश्राम भनेका छन् । कार्यक्रमलाई थप परिष्कृत बनाउन विश्राम लिनु परेको उनको भनाइ छ । यो विश्राम केही समयका लागि मात्रै रहेको र चाँडै नै नयाँ सिजन प्रसारणमा ल्याउने उनले बताएका छन् । यस टेलिसिरियलका लेखकसमेत रहेका अर्जुनले .सामाजिक सञ्जालमार्फत् ९३ भागपछि उत्पादन प्रसारण बन्द हुने जानकारी दिएका हुन् । पाँच दिनअघि नै ९३ भाग प्रसारणमा आएको थियो । अजुर्नले चौथो सिजन उत्पादनका लागि सुझाव समेत मागेका छन् ।
उनले सोधेका छन्, ‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठास जस्ता पक्षलाई कुन रुपमा उठाएको हेर्न चाहनुहुन्छ ? ’ टेलिसिरियल सक्किगोनिका भनेर उनले प्रश्न सोधेका छन।

