
हेटौंडा । हेटौंडामा राष्ट्रिय हक्की प्रतियोगिता आजबाट सुरु हुने भएको छ । आज बिहीबारबाट सुरु हुने प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । बुधबार हेटौंडा–४ स्थित हुप्रचौरमा पत्रकार सम्मेलन गर्दै मकवानपुर जिल्ला हक्की संघका अध्यक्ष मनोज शर्माले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभएको छ । दोस्रो संस्करणको अन्तरनगरपालिका हेटौंडा कप राष्ट्रिय हक्की प्रतियोगिता हेटौंडा–४ स्थित हुप्रचौरमा सञ्चालन हुने अध्यक्ष शर्माले बताउनु भएको हो।
बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सहप्रायोजकका रुपमा हेटौंडा–१० स्थित तुल्सीमेहर बोर्डिङ र नारायणी कलेज रहने उहाँले बताउनुभयो । ५ ‘ए’ साइडमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता पुरुषतर्फ ९ वटा टिम र महिलातर्फ ४ वटा टिमको सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगिताका लागि नेपाल हक्की संघ केन्द्रीय समितिले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगितामा विभिन्न जिल्लाका पालिकाहरुको टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । गत वर्ष सम्पन्न भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । गत वर्ष हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न भएको प्रतियोगिताको उपाधि भीमदत्त नगरपालिकाले जितेको थियो । प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ ।

