
ससुराली हिँडेका धनुषाका एक युवकको अपहरण पछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो । गौशाला नगरपालिका-८मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको हो। शव शुक्रबार साँझ साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ ।शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका बताइएको छ। महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिएको छ ।

