अस्ट्रेलिया सरकारले नेपाललाई ३४ मिलियन डलर सहयोग गर्ने

हेटौंडा टुडे
१६ चैत्र २०८१, आईतवार १२:४१

हेटौंडा । अस्ट्रेलिया सरकारले नेपाललाई यस आर्थिक वर्षमा करिब ३४ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । केही दिनअघि सार्वजनिक बजेटमा घोषणा गरिएको हो । अस्ट्रेलियाले हरेक वर्ष विकासोन्मुख राष्ट्रलाई विभिन्न शीर्षकमा वैदेशिक सहयोग प्रदान गर्दै आएको छ । चार दिनअघि यहाँस्थित ट्रेजरर जिम चार्ल्मरले सार्वजनिक गरेको बजेटमा नेपाललाई दुई तहमा सहयोग रकम दिइने उल्लेख गरिएको छ । नेपाललाई यस आर्थिक वर्षमा द्विपक्षीय विनियोजन अन्तर्गत ९ दशमलव १ मिलियन र विकास कार्यक्रम अन्तर्गत २५ दशमलव ४ मिलियन डलर सहयोग प्रदान गरिनेछ ।

अस्ट्रेलियाले गत आर्थिक वर्ष नेपाललाई कूल ३५ दशमलव ६ मिलियन डलर सहयोग गरेको थियो । अस्ट्रेलियाले नेपाललाई दिने सहयोग रकम विभिन्न तीन प्राथमिकतालाई मध्यनजर गरेर सहयोग दिँदै आएको छ । यहाँस्थित वैदेशिक विभागमा उपलब्ध तथ्यांकमा अनुसार स्वास्थ्य सुरक्षा, स्थायित्व र आर्थिक प्रगति र विकासलाई प्राथमिकतामा राखेर सहयोग दिइएको छ । अस्ट्रेलिया र नेपालबीचमा ६० वर्षभन्दा बढी द्विदेशीय सम्बन्ध रहेको जनाउँदै नेपालको विकास, आपतकालीन अवस्थाको तयारीमा सहयोग पुर्‍याउन र स्थानीय तथा जोखिममा रहेका समुदायलाई टेवा दिन तत्पर रहेको बताइएको छ ।

अस्ट्रेलियाले दिने सहयोग स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका सामाग्री, कोभिड खोप, महिला स्वास्थ्य, शुद्ध खानेपानी तथा स्वास्थ्य तथा सरसफाइमा केन्द्रित रहनेछ । यसैगरि दिगो नीति नियमको निर्माण गर्न, प्रभावकारी सेवा प्रवाह र सुशासनका लागि केन्द्रित रहनेछ । अस्ट्रेलियाले अन्य विभिन्न संस्थामार्फत् नेपालको दीर्घकालीन आर्थिक विकासका क्षेत्रमासमेत कार्य गरिरहेको उल्लेख छ । अस्ट्रेलियाले लामो समयदेखि नेपाल लगायतका दक्षिण एसियाली मुलुकलाई हरेक वर्ष आर्थिक सहयोग दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image