
हेटौंडा । संयुक्त जनआन्दोलन समितिका जनकमान्डर बनाइएका व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नबनेको दाबी गरेका छन् । आफूलाई हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको उनको भनाइ छ । आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको हु बताएका छन। प्रसाईंले भने, ‘म भागेको छैन र म भाग्दिन पनि । पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन । मलाई गोन्जालोज बनाएर यो आन्दोलनलाई दबाउने कोसिस गरिएको छ । म सुरक्षित मात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि म सुरक्षित ठाउँमा बसेका छु ।
गएको शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको र दमन गरेको उनले आरोप लगाएका छन् । निजी घरको छतमा प्रहरी जाँदा अवस्था बिग्रेको उनको भनाइ छ ।त्यस दिन तीनकुनेमा आफ्नो कानको छेउबाट गोली गएको उनले बताएका छन् । आफू हाल काठमाडौंको कुनै एक मन्दिरमा बसेको उनले जिकिर गरेका छन् । आफू नभागेको पनि उनले बताएका छन् ।

