
जंगली जनावरका लागि थपिएको विद्युतीय धरापमा परेर सिरहामा एक बालिकाको मृत्य भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षीया गुलसना खातुन रहेकी छिन् । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । प्रहरीले धराप थाप्ने स्थानीय २४ वर्षीय वीरबहादुर सार्कीलाई पक्राउ गरी सात दिनको म्याद लिई ज्यानसम्बन्धी कसुरमा मुद्दा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९ः०० बजेतिर सार्कीले जङ्गली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

