
दुई दिन देखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध पारेको छ। विशेषगरी कर्णाली प्रदेशका जिल्लाका केही प्रमुख सडक पूर्ण रुपमै अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कर्णाली प्रदेशका ६ ठाउँमा सडकहरू पूर्ण रुपमा अवरोध भएका छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ पृतिवाङ खोलामा आएको बाढीले राप्ती राजमार्ग पूर्ण रुप्मा अवरोध गरेको छ।
यस्तै सुर्खेतको पाचालझरना गाउँपालिका–८ जारकोटमा आएको पहिरोले सुर्खेत–हुम्ला सडक खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । यस्तै कालिकोट–सुर्खेत सडकखण्डमा कालिकोटको खाँडाचक्र नगरपालिका–८ मा सडकमा ढुंगा खसेर सडक पूर्ण अवरुद्ध बनेको प्रहरीले जनाएको छ।
यस्तै पहिरोका कारण कर्णाली राजमार्ग कालिकोटकै दुई ठाउँमा पूर्ण अवरुद्ध बनेको छ। सान्नीत्रिवेणी गाउँपालिका–८ र रास्कोट नगरपालिका–८मा सडकमा पहिरो गएको प्रहरीले जनाएको छ।
यस्तै सुर्खेत–जाजरकोट सडकखण्ड अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा पहिरो जाँदा उक्त सडक पनि पूर्ण रुपमा अवरुद्ध छ।यस्तै भक्तपुरमा अरनिको राजमार्ग, काभ्रेपलान्चोकमा बिपी राजमार्ग, दार्चुलाको गोकुलेश्वर–दार्चुला सडकमा पहिरोले आंशिक क्षति पुर्याएको प्रहरीले जनाएको छ। यद्यपि ती सडकहरु एकतर्फी भने सुचारु छन्।

