
हेटौंडा । हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौंडा अस्पताल बचाउँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाई दिएको छ । अभियानमा आवद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्द माथि रंग दलेर मेटाई दिएका हुन् । उनीहरुले हेटौंडा अस्पतालमात्र लेखेको अर्को बोर्ड समेत झुन्डाएका छन् । अस्पताललाई प्रतिष्ठानबाट अलग राख्नु पर्नेमा नेकपा एमाले बाहेकका सबै राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको चल अचल सम्पत्ति कुनै अमुक दल निकट प्रतिष्ठानको हुन नहुने भन्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथि सर्वोच्च अदालतमा मुद्दा परेको छ । हेटौंडा अस्पताललाई प्रतिष्ठानको नाममा दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।

