मेयरले उद्घाटन गरेको सैलुनमा गर्मी भएपछि एसी दिने विषयले अहिले सामाजिक सञ्जालमा चर्चा

हेटौंडा टुडे
४ बैशाख २०८२, बिहीबार १५:१३

हेटौँडा । बिहीबार बिहानबाट हेटौँडा उपमहानगरपालिकाको तोकादेश भएको एउटा पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हेटौँडा–४ शितलमहल चोकस्थित एक सैलुनलाई एयर कण्डिशनर (एसी) र इन्भर्टर अनुदान दिने मेयरको तोकादेश सहितको उक्त पत्र भाइरल भएको हो ।

यो विषयको सुरुवात हुन्छ एउटा सैलुनको उद्घाटनबाट । हेटौँडा-४ मा सुरु गरिएको द नाइन्टिन सैलुनको उद्घाटन गर्न पुगेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले उद्घाटनको क्रममा ‘यहाँ गर्मी रहेछ, एसी जडानको लागि उपमहानगरपालिकाको तर्फबाट सहयोग गर्छु’ भन्ने वाचा गरेकी थिइन् । सोही बाचालाई सम्झँदै सैलुन सञ्चालक सुसन घलानले अब गर्मीको महिना सुरु भएको र आफ्नो सैलुनमा ग्राहकको भिड बढेको भन्दै उपमहानगर समक्ष एक थान एसी र एक थान इन्भर्टरको लागि निवेदन दिए ।

उपमहानगरले पनि निवेदकको माग बमोजिम माग भएको सामानको लागत अनुमान तयार गरी दिनु भन्ने तोक लगाएपछि उक्त पत्र सामाजिक सञ्जालमा एकाएक भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले एउटा निजी व्यवसायलाई एसी दिने गरी तोक लगाउनु सुशासनको खिलाफ भन्ने आशयले तर्क गरिरहेका छन् । लामा समर्थक कतिपयले भने युवाहरूले सुरु गरेको व्यवसायलाई स्थानीय सरकारले प्रोत्साहन गरेको टिप्पणी गरेका छन् । यो विषयमा उपमहानगरले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

सो अवस्थासम्मको प्रक्रिया पुरा गरेको पत्र एकाएक वैशाख ४ गते बिहीबार बिहानबाट सामाजिक सञ्जालमा बाहिरिन्छ । बिहानैबाट हेटौँडा उपमहानगरपालिका र मेयर लामाको आलोचना सहित सो पत्र सामाजिक सञ्चालनमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image