
हेटौंडा । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ। यसमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले थप समस्या दिएको देखिन्छ। वर्षायामको समय सुरु भए पछि नेपालमा विभिन्न प्रकारका रोगहरु पनि सुरु हुन थाल्दछ। अब चाँडो नेपालमा मनसुनको प्रवेश हुँदै गर्दा मौसमी महामारीको जोखिम पनि बढ्दै गइरहेको छ।विगतका अनुभवहरूका आधारमा सम्भावित महामारीको विश्लेषण गर्न पनि सक्छौँ ।
हैजा
हैजा मनसुन सुरु भएसँगै अस्पताल नै भरिभराउ हुने गर्दछ। घण्टा बित्न नपाउँदै ४०र५० जना अस्पताल भर्ना हुन आउने गरेको लेखकको अनुभव छ। हाल त्यो भयावह अवस्था छैन तर हैजालाई नेपालमा इतिहासमा सीमित राख्न सकेको अवस्था पनि छैन। नेपालमा धेरै जसो ठाउँहरुमा अहिले पनि हैजा नियमित जस्तो देखिने गरेको पाइन्छ। यसबाट धेरैको मृत्यु समेत हुने गरेको छ। हैजा कडा भएको अवस्थामा पनि तुरुन्तै उपचार पाए मृत्युको सम्भावनालाई घटाउन सकिन्छ। भौगोलिक रूपमा विकट एवं दुर्गम ठाउँहरूमा जटिल प्रकृतिको हैजा देखिए त्यसबाट व्यक्तिको मृत्यु पनि हुने सम्भावना रहन्छ। किनभने त्यस्ता ठाउँबाट बिरामीलाई सुविधासम्पन्न अस्पतालसम्म समयमा ल्याउन कठिन हुने गर्दछ। पानी निर्मलीकरण गरेर नपिउने भएकाले हैजाको जोखिम बढेको हो। झिँगा पनि हैजा फैलाउने एक माध्यम हो।
श्वासप्रश्वास संक्रममण
बर्सेनि मनसुनको मध्यतिर श्वासप्रश्वास संक्रमण विशेषत फ्लु भाइरसको लहर देखिने गर्दछ। विगतको अनुभवलाई आधार मान्ने हो भने फ्लु भाइरसले बेलाबेलामा महामारीको रूप समेत लिने गरेको देखिन्छ। कोभिड–१९ अगाडि ‘एचवानएनवान पिडिएम ०९’ नामक फ्लु भाइरस प्यानडेमिक घोषणा भएको थियो। नेपालमा यसलाई ‘भाइरल’ वा सामान्य रुघाखोकीका रूपमा लिने चलन भए तापनि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिकाको स्वास्थ्यलाई जटिल बनाउने गरेको देखिन्छ।
डेंगु
वर्षायाम सुरु भए पछि लामखुट्टे पनि व्यापक हुदै जान्छ । नेपालको तथ्यांकलाई हेर्ने हो भने दुईदेखि तीन वर्षको अन्तरालमा डेंगुले प्रकोप/महामारीको स्वरूप लिने गरेको छ। प्रत्येक महामारीसँगै भाइरसको संक्रामकता, आक्रमकता र जटिलता पनि बढ्दै गएको देखिन्छ।
स्क्रब टाइफस
यो रोग ‘ओरिएनटा सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारणले हुने गर्दछ। यो चिगर माइट नामक किर्नाको टोकाइका कारणबाट हुने कीटजन्य रोग हो। सन् २०१५ मा केही बालबालिकाको मृत्यु स्क्रब टाइफसले भएको प्रमाणित भएपछि यसले नेपालमा विशेष चर्चा पाएको हो। केहीको उपचारमा ढिलाइ हुँदा वा उपचारका क्रममा मृत्युसमेत हुने गरेको देखिन्छ। विशेषतः गाउँघरतिर अथवा वनजंगल जाँदा अथवा पछिल्लो समय शहरमा हाइकिङमा जाने बढ्दो प्रचलनले पनि स्क्रब टाइफसको जोखिम बढेको देखिन्छ।

