
हेटौंडा । हेटौंडामा जेठ ३ गतेदेखि मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा नगरका १९ वटै वडाको सहभागिता रहनेछ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी दिँदै समितिका अध्यक्ष रविन्द्र घिमिरेले खेल हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा सञ्चालन हुने बताए। उपमहानगरपालिकाले बीस लाख रुपैयाँको बजेट सहयोग उपलब्ध गराएको र खेलको समन्वय तथा व्यवस्थापन समितिले गर्ने जनाइएको छ। प्रतियोगितामा नगरका सबै १९ वडाबाट खेलाडीहरूले निःशुल्क टिम दर्ता गराउन सक्नेछन्। इच्छुक टिमहरूले आगामी वैशाख २८ गतेभित्र नगर कार्यपालिकाको कार्यालयमा रहेको नगर खेलकुद विकास समितिमा टिम दर्ता गराइसक्नुपर्नेछ।
नकआउट प्रणालीमा आधारित प्रतियोगिताका विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, उत्कृष्ट फर्वाडर, गोलकिपर, डिफेन्डर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

