नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय हक्की प्रतियोगिता हुने

हेटौंडा टुडे
१५ बैशाख २०८२, सोमबार १३:१६

हेटौंडा । नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ। संघको वार्षिक कार्यक्रमअनुसार यही वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की हुनेछ । यस्तै वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की हुन लागेको हो । प्रतियोगिताका खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछन् ।

पत्रकार सम्मेलन गर्दै आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले ललितपुरको च्यासल फुटबल मैदानमा हुने प्रतियोगितामा पुरुषमा आठ तथा महिलामा चार समूहले प्रतिस्पर्धा गर्ने जानकारी दिईन् । पुरुषमा ८ तथा महिलामा ४ टिमले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा मधेश, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेश, नेपाल पुलिस क्लब, नेपाल आर्मी र एपिएफ क्लब सहभागी हुनेछन् । प्रतियोगिता लिग कम नकआउट आधारमा हुने छ ।
महिलातर्फ गण्डकी, मधेश र बागमती प्रदेश तथा नेपाल आर्मीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने समूहबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने समूहले क्रमशः  ७५ हजार, ५० हजार र २५ हजार रुपैंया पुरस्कार प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजार रुपैंया पुरस्कार प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी दिइन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई  दुई हजार रुपैंया प्रदान गरिने छ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख र महिलाका लागि २५ लाख रुपैंया खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image