
हेटौंडा । देशभरिका विद्यालयहरूमा शैक्षिक गतिविधि प्रभावित भएको एक महिना नाघ्न लाग्दासमेत शिक्षक आन्दोलनको समाधान टाढाजस्तै देखिएको छ। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलन २९ दिन पुगेको छ तर समाधानको स्पष्ट बाटो खुलेको छैन।
नेपाल सरकार र नेपाल शिक्षक महासंघ छलफलमा छ तर मागहरू तत्कालै पूरा हुने स्थितिमा नभएकाले संवाद लम्बिँदै गएको स्रोतको भनाइ छ। सामुदायिक शिक्षाको मेरुदण्डका रूपमा रहेका शिक्षकहरू आफ्ना मौलिक अधिकार र मागका लागि सडकमा छन्। उनीहरू स्थायित्व, सम्मान र समुचित व्यवस्थापन खोजिरहेका छन्। सरकार भने ‘समस्या बुझेको’ भन्दै वार्ता गर्दैछ तर व्यवहारमा गम्भीर प्रतिवद्धता देखिएको छैन।
सरकार र महासंघबीच पटकपटक भएका वार्तामा दुवै पक्षले ‘सकारात्मक’ भनेका छन्। नेपाल शिक्षक महासंघमा आबद्ध विभिन्न घटक संगठनहरूबीच माग र आन्दोलनको विषयमा पूर्ण एकता छैन। केही संगठनहरू सरकारसँगको वार्तालाई सकारात्मक मान्छन् तर केही अझै सरकारको नियतमाथि प्रश्न उठाइरहेका छन्।

