राक्सिराङमा चट्याङ पूर्वसूचना प्रणाली जडान

हेटौंडा टुडे
२०८२ बैशाख १७, बुधबार ११:३९ गते

 हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङजन्य प्रकोपबाट जनधनको क्षति न्यूनीकरणका लागि पूर्वसूचना दिने अत्याधुनिक प्रणाली जडान गरिएको छ । चट्याङ आउनुभन्दा करिब १६ मिनेट अघिनै सूचना दिनसक्ने यस प्रणालीले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियस भित्र साइरन मार्फत चेतावनी दिनेछ ।  साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा स्थापना गरिएको यो प्रणाली दक्षिण एसियामै पहिलोपटक स्थायीरूपमा प्रयोगमा ल्याइएको अनुसन्धानकर्ता तथा नेटवर्कका अध्यक्ष श्रीराम शर्माले जानकारी दिए ।

यसअघि नगरकोटमा सफल परीक्षण गरिएको प्रणाली राक्सिराङमा पहिलोपटक स्थायी रूपमा जडान गरिएको शर्माले बताए । मंगलबार एक कार्यक्रमकाबीच भएको प्रविधि हस्तान्तरण कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, वडा अध्यक्षहरू तथा प्राविधिक समूहको उपस्थिति रहेको थियो । अध्यक्ष मल्लले राक्सिराङलाई उच्च विपद् जोखिमयुक्त क्षेत्र मानेर यस्तो प्रविधिको आवश्यकता रहेको औंल्याउँदै पूर्वसूचना पाएपछि सुरक्षित ठाउँमा पुग्ने तयारी गर्न सजिलो हुने र चट्याङका कारण हुने मानवीय क्षति कम हुने विश्वास व्यक्त गरे का छन ।

पिपुल इन निडको आर्थिक सहयोगमा वितरण गरिएको प्रणाली अन्तर्गत एउटा मुख्य सेन्सर र आठवटा साइरन जडान गरिनेछ । प्रमुख स्थानहरूमा राखिने साइरनहरू क्रमशः वडा नम्बर १ को राम्चे, वडा २ र ३ को भाट्टी, वडा ४ को वडा कार्यालय, वडा ५ को चैनपुर, वडा ६ को सिलिङ्गे विद्यालय, वडा ७ को गर्लिङ, वडा ८ को पाङ्बुङ र वडा ९ को कन्द्राङ प्रहरी चौकीमा जडान गरिनेछ ।

मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका चट्याङको उच्च जोखिममा छन् । चालु आर्थिक वर्ष साउन यता मकवानपुरमा चट्याङ लागेर ६ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image