काठमाडौं/टेलिभिजन कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री निरौला बाहिरिएकी छिन्। सो को अध्यक्षता ग्रहण गर्दै आइरहेकी दीपाश्री महानायक प्रकरणमा विवादमा तानिएकी थिइन्। दोस्रो सिजनमा उनको ठाउँमा नायिका करिश्मा मानन्धरको प्रवेश भएको छ।
कार्यक्रमबाट बाहिरिएपछि दीपाश्रीले पहिलो सिजनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘निकट भविष्यमा टेलिभिजनको पर्दामा केही फरक कार्यक्रमसहित उपस्थित हुनेछु। सम्पूर्ण दर्शकहरूमा नमन।’
करिश्माले दोस्रो सिजनमा आफू अध्यक्षको रूपमा प्रवेश गरेको बताइन्। दीपालाई किन हटाइएयो भन्नेबारे कुनै धारणा सार्वजनिक भइसकेको छैन। तर, कार्यक्रम प्रायोजकले महानायक विवादपछि दीपालाई नराख्न दबाब दिएको थियो। सोही आधारमा उनलाई हटाइएको स्रोतको भनाइ छ।
कलाकार जीतु नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो। केही दिनमै दोस्रो सिजन सुरु गर्ने भनिएको छ। अब प्रसारण हुने पहिलो भागमा पत्रकार ऋषि धमला र नायिका समेत रहेकी उनकी श्रीमती एलिजा गौतम अतिथि हुनेछन्। कार्यक्रममा आफ्नो प्रवेश हुनेबारे एलिजाले जानकारी गराएकी छिन्।
अब असोज तेस्रो साताको सोमबारबाट सो प्रसारणमा आउनेछ। कार्यक्रम अब फरक शैलीमा आउने जीतु नेपालले जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत कार्यक्रम पुरै नयाँ सेटमा, केही नयाँ कलाकारसहित आउन लागेको जनाए। नेपाल सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै कार्यक्रमको छायांकन थालिएको उनले बताए।
पहिलो सिजनमा कलाकारहरू राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहँदै आएको थियो। दोस्रो सिजनमा करिश्माले अध्यक्षता गर्नेछिन्। केही कलाकार पनि परिवर्तन हुनेछन्। नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको सो टेलिभिजनको लोकप्रिय कार्यक्रम मध्य एक हो।