काठमाडौं/नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा मंसिर ३ मा हुने भएको छ। शनिबार भर्चुअल रूपमा बसेको क्यानको बोर्ड बैठकले मंसिर ३ मा साधारणसभा गर्ने निर्णय गरेको हो।
‘नेपाल क्रिकेट संघको वार्षिक साधारणसभा आगामी मंसिर ३ मा गर्ने निर्णय भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
क्यानको सोही बोर्ड बैठकले मंसिर १० देखि सम्पूर्ण स्वास्थ्य प्रोटोकल पूरा गर्दै पुरुषतर्फ राष्ट्रिय टिमको क्लोज क्याम्प सुरु गर्ने समेत निर्णय गरेको छ।
यस्तै बोर्डको सोही बैठकले केही खेलाडीहरूको ग्रेड बढुवासमेत गरेको छ। सोमपाल कामीलाई ग्रेड एमा बढुवा गरिएको छ भने अविनाश बोहरालाई बी ग्रेडमा गरिएको छ। यसतै ललित नारायण राजवंशीलाई बी ग्रेडमा र सम्दीप बोहरालाई सी ग्रेडमा वर्गीकरण गरिएको छ। यस्तै महिलातर्फ सरस्वती चौधरीलाई बी ग्रेडमा र ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राख्ने निर्णयसमेत गरेको छ।
यस्तै भारतीय दूतावासको सहयोगमा कीर्तिपुरस्थि टियू क्रिकेट मैदानको पबेलियन हलको स्तरोन्नति गर्ने, मूलपानी क्रिकेट मैदानमा ड्रेन निर्माण गर्ने समेत निर्णय गरेको छ।
यस्तै प्रधानमन्त्री राष्ट्रिय कम क्रिकेट प्रतियोगिता डिसेम्बरको अन्तमा संचालन गरिने भएको छ।