काठमाडौं/नेकपा अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिह्न र नेकपा आफैसँग रहने भएकाले ढुक्क हुन आग्रह गरेका छन्। पोखरामा भएको गण्डकीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन्। उनले हिजो निर्वाचन आयोगसँग कुराकानी गर्दा आयोगले न्याय गर्ने विश्वास व्यक्त गरे।
‘हामीसँग ७० प्रतिशत केन्द्रित सदस्य छन्। हामीले निर्वाचन आयोगमा गएर विगतको नजिरसमेत राखेका छौँ,’ दाहालले भने, ‘मलाई विश्वास छ कि निर्वाचन आयोगले निष्पक्ष निर्णय गर्छ। सूर्य चिह्न हाम्रै हुन्छ नेकपा हाम्रै हुन्छ।’
यदि कसैले छल गरेमा आँधीहुरी सिर्जना हुने उनको चेतावनी छ। आयोग यो विषयमा गम्भीर भएको आफूले पाएका उनले बताए। दाहालले केपी ओलीका मानिसहरू आत्तिएका पनि टिप्पणी गरे।
‘सचिवालय, स्थायी समिति र केन्द्रिय समितिमा हामी धेरै छौँ,’ उनले भने, ‘त्यसैले ढुक्क हुनुभए हुन्छ निर्णय हाम्रै पक्षमा हुन्छ।’ केपी ओली मात्र झुट बोल्न सक्ने भन्दै उनले आफूहरू नसक्ने बताए।
कोभिड-१९ मा समेत भ्रष्टाचार गर्ने यसमा छानविन गर नत्र जिम्मेवारी छोड भन्ने तयारी भएपछि उनले कुर्सी बचाउन संविधानमाथि प्रहार गरेको दाहालको आरोप थियो।
‘बहुमत नभएपछि बहुमत छ भनेर पार्टी फुटाउने, संविधानलाई प्रहार गर्ने?,’ दाहालले भने, ‘संविधानमा प्रतिनिधि सभा विघटन गर्ने अधिकार कहीा छ र?’
जनताले चुनेर पठाएको सार्वभौम संसदमा पार्टीको विवादलाई लिएर प्रहार गर्न नमिल्ने उनको दाबी थियो। ओली मानिसहरुलाई धम्काउने र प्रतिगमनमा रमाउने मानिस भएको आरोप लगाए।