काठमाडौं– कमेडीमा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन- २’ फागुन २१ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले अघिललो सीजन भन्दा यो सीजन भव्य हुने दावी गरेका छन् ।
भण्डारीले अघिल्लो गत वर्ष आर्थिक रूपले केही समस्या झेल्नु परेकाले योजना अनुसार काम गर्न नसकिएको स्विकारे ।‘गत वर्ष हामीलाई आर्थिक रूपमा धेरै समस्या र्पयो, जसका कारण कतिपय सपना पूरा हुन सकेनन् ।
यस वर्ष हामीलाई आर्थिक पक्षको चिन्ता भएन । अब ढुक्कसँग कन्टेन्टमा काम गर्न पाउने छौं, भण्डारीको भनाइ छ– ‘गत वर्ष गर्न नसकेको काम हामीले यस वर्ष गर्नेछौं ।’
निर्देशक भण्डारीका अनुसार यो वर्षका प्रतियोगीलाई प्रसस्त मिहिनेत गराइएको छ र कान्तिपुर टिभीका स्टेशन हेड दिनेश डिसी कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताए ।
‘कमेडी च्याम्पियन अर्गानिक शोको रूपमा स्थापित भएको छ ।
यस अर्गानिक शोलाई हामीले गत सिजनको अन्त्यमा नै ५ वर्षको लागि सम्झौता गरेर लिइसकेका छौं, डिसीको भनाइ छ –‘५वर्ष मात्र होइन, अझै लामो समयसम्म कान्तिपुर र कमेडी च्याम्पियनबीच सहकार्य हुनेछ ।’
कार्यक्रममा विज्ञापन कम्पनी एड रिलिजले विभिन्न आयोजक तथा प्रयोजकसँग सम्झौतापत्र आदान प्रदान गरेको थियो ।
कमेडी च्याम्पियन–२ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो ।
६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरिएको थियो, जसमध्ये उत्कृष्ट २४ प्रतियोगीमा शोका लागि छनोट भएका छन् ।
कमेडी च्याम्पियनका निर्णायकमा अघिल्लो सीजनकै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा दोहोरिएको छन् ।
कार्यक्रमको उद्घोषणको जिम्मा रीमा विश्वकर्माले लिएकी छिन् । थ्रि प्रोडक्सनुले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।