टिकटकमा छाउँदै ‘चिर्पटको पुल’

टुडे संवादाता
१६ चैत्र २०७७, सोमबार १८:०३

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित लालझाडीमा रहेको ‘चिर्पटको पुल’पछिल्लो समय निकै भाइरल बनेको छ ।

हेटौंडा लगायत हेटौंडा आसपासका मानिसहरु फोटो खिच्न,टिकटक बनाउन त्यहाँ पुग्ने गर्दछन् । हेटौंडेलीहरुलाई टिकटक बनाउन ,फोटो खिच्न त्यस स्थान लोकप्रिय गन्तब्य बन्दै गईरहेको छ ।

गत साउन ६ गते लालझाडीका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको राप्तीखोलामा तुइन चढ्ने क्रममा लडेर मृत्यु भयो । वर्षामा खोला तर्न नसकेपछि उनले तुइनको सहारामा घर जाने प्रयास गरेका थिए । तर, तुइनले त्यस बेला साथ नदिएपछि उनी लड्न पुगे । हेटौंडा अस्पताल लैजाँदैं गर्दा उनको मृत्यु भयो । उक्त घटनापछि स्थानीय त्रसित देखिन्छन् ।

तुइनबाट यात्रा गर्ने काम त्यहीँ घटनादेखि बन्द भयो । स्थानीयले विद्यार्थीलगायतलाई पायक पर्ने गरी काठेपुल बनाएका छन् । सडकको बाटोसम्म आइपुग्न असोजमा टोलबासीले त्यहाँ पुल हाले । दाउरा चिर्पटसँगै ठूला काठका भाटासहित पुल निर्माण गरिएको छ ।

पुलमा फोटो खिच्दै टिकटक बनाउदैँ

टोलका बासिन्दासँगै विद्यार्थीलाई पुल हालेपछि घरबाट नजिक सडकसम्म पुग्न निकै सहज भएको छ । तर, हाल पुल बाहिरबाट जाने मानिसका लागि फोटो खिंच्ने र टिकटक बनाउने स्थल बन्न पुगेको छ । पुलमा सय देखि डेढ सयसम्म मानिस फोटो खिंच्नैका लागि आउने गरेको स्थानीयको भनाइ छ ।

त्यहाँ आउने स्थानीय पर्यटकले आफूहरुलाई अप्ठेरो परेको उनीहरुको भनाइ छ । कहिलेकाँही  त पुललाई समेत धक्का पर्न गएर राखिएको दाउरको चिर्पट खोलामा खसेको स्थानीय बताउँछन् ।

स्थानीय ठूलीमाया गोलेका अनुसार –बजारसम्म जाउँ  भनेर पुलमा जान खोज्छु । तर त्यहाँ भिड लागेको हुन्छ । सबै आआफ्नै तालमा हुन्छन्, फोटो खिंच्ने, टिकटक बनाईरहेका हुन्छन् । पुल जोखिममा छ । त्यहाँ धेरैलाई धान्न नसक्ने हुन्छ । उनीहरुको काम सकिएपछि आफू एकछिन बसेर भए पनि पुलबाट जाने गरेको गोलेको भनाइ छ ।

त्यस्तै स्थानीय जितबहादुर भोम्जन गुनासो गर्छन्–हामीले कतिलाई भन्ने गरेका छौं यहाँ नआउनु जोखिम छ भनेर । तर यसबारे कसैले सुन्न नचाहेकोञ उनको भनाइ छ । विस्तार आउनुपर्ने हुन्छ तर, त्यहाँ त नाचिरहेको अबस्था छ । भोम्जनले भने–हामीले हामीलाई पायक पर्ने तरिकाले बनाएका हौं तर, पर्यटकलाई बनाएझंै भएको छ । आधुनिक माविको कक्षा–९ मा अध्ययनरत् अश्मि रुम्बा भन्छिन्–विद्यालयबाट फर्किंदा मानिसको निकै भिड लाग्ने गरेको छ । कतिपय अबस्थामा टिकटक बनाइरहेका दिदीबहिनीको पछाडि उभिएर बस्नुपर्ने उनको भनाइ छ । पुल जोखिममा छ । त्यहाँ हिँड्दासमेत पुल हल्लिने हुन्छ । कयौंको भार पुलले धान्न सक्दैन । तर, पछिल्लो समय हेटौंडाका युवाको आकर्षण त्यही पुलमा पर्न गएको छ । यसबाट स्थानीयलाई समेत मर्का परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*