हेटौँडा/ जिल्लाको बागमती गाउँपालिका वडा नं ५ स्थित बागमती आधारभूत विद्यालयको नवनिर्मित १० कोठे भवनको उद्घाटन गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको बिहिबार एक समारोहबीच उद्घाटन गर्नुको साथै साँचो हस्तान्तरण गरिएको हो ।
बागमती गाउँपालिका–५ लितिखोला, बगेरी स्थित बिकट माझि बस्तिमा भारत सरकारको कर बाहेक करीब १ करोडको लागतमा सो भवन निर्माण गरिएको हो । विहिबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र नेपाल स्थित भारतीय महा वाणिज्य दुतावासका कन्सुलर जनरल नितेश कुमारले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुका साथै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरेका थिए ।
उद्घाटन समारोहमा जिसस प्रमुख खुलालले विद्यालयको भौतिक निर्माणसंगै शैक्षिक सिकाईलाई ध्यान दिन आग्रह गरे । उनले विद्यालयको संरक्षण र प्रयोगमा ध्यान दिँदै शैक्षिक शिकाई गुणस्तरीय बनाउने तर्फ ध्यान दिन प्रधानाध्यापक र विद्यालय व्यवस्थापनलगायत समुदायलाई अनुरोध गरे ।
कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका कन्सुलर जनरल नितेश कुमारले भारत सरकारले गरेको सहयोगको उचित सदुपयोग होस भन्ने शुभकामना व्यक्त गरे । उनले यस्ता खाले सहयोग निरन्तर रहने समेत बताए । नवनिर्मित भवनमा कक्षा कोठा, प्रशासन तथा कर्मचारी कक्षलगायत १० वटा कोठा छन् । भने शौचालय छुट्टै निर्माण गरिएको छ । साविक जिल्ला विकास समिति मार्फत ठेक्का लगाइएको थियो ।
विद्यालयका प्रधानाध्यापक गोकर्ण थापाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष धनमाया स्याङतान, समन्वय अधिकारी आनन्दराज पोखरेल, ५ नम्बर वडाअ्रध्यक्ष बुद्धीमान माझी, जिसस सदस्य सरिता बिक, जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपालिकाका कर्मचारी, स्थानीय राजनैतिक दलका प्रतिनिधि, समाजसेवीहरुको उपस्थिती थियो ।