हेटौँडा/ भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारमा विभिन्न मुद्धामा जेल जीवन व्यतित गरिरहेका आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) बुधबार अपराह्न भेटघाट गरेका छन् । कारागार प्रमुख मदन लामा थिङ् र कारागारका सुरक्षा प्रमुखको रोहबरमा विप्लवले आफ्ना कार्यकर्तालाई भेट गरेका हुन् । भेटघाटको क्रममा महासचिव विप्लवले आफ्ना कार्यकर्तालाई चाँडै बिनासर्त रिहाइको लागि केन्द्र सरकारसंग आफुले पहल गरिरहेको आश्वासन दिएका छन् । उनले मुलुक परिवर्तनको लागि गरिएको आन्दोलनमा सहभागि भएका आफ्ना कार्यकर्तालाई तत्कालिन सरकारले झुटा मुद्धा लगाएर पूर्पक्षको लागि थुनामा पठाएको बताए ।
उनले नेपाली जनताको जगमा टेकेर जनताकै लागि गरिएको आन्दोलन अझै नसकिएको र आवश्यक पर्दा देश र जनताको लागि जस्तोसुकै परिस्थितिको सामना गर्न आफुहरु तयार रहेको पनि बताए । विप्लवका ६ जना कार्यकर्ता विगत ६ महिनादेखि भीमफेदी कारागारमा रहेका छन् । उनीहरुलाई पूर्वाञ्चलबाट ल्याइएको थियो । उनीहरुमाथि विस्फोटक पदार्थ ल्याई विभिन्न सार्वजनिक स्थान र व्यक्तिहरुलाई आतंकित बनाएको सम्बन्धि चलाइएको छ ।