हेटौंडामा नमूना युवा नगरसभाको प्रशिक्षण कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
१७ फाल्गुन २०७८, मंगलवार १९:०४

हेटौंडा । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना भएको नमूना युवा नगरसभाको अभ्यास सम्बन्धी ५ दिवसीय प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।फागुन १० गते मंगलबारदेखि सुरु भएको कार्यक्रम ५ दिन पश्चात् नमूना नगर सभा संचालन भएपश्चात समापन भएको हो । नमूना नगरसभालाई नगर सभा अध्यक्ष जस्प्रीता अधिकारीले संचालन गर्दै नमूना नगर सभा उपाध्यक्ष रंजन कुमार पौडेलले बजेट बक्तब्य, बिनियोजन बियेयक २०७८ र आर्थिक बिध्येयक २०७८ पेश गर्दै पारित भएको थियो भने बिधान समिती संयोजक स्वस्तिका बानियाँले नगर युवा परिषद् ऐन नगर सभामा पेश गर्दै पास भएको थियो ।

यसैगरी नगरसभा सदस्य सिद्धान्त पुडासैनीले बेरोजगार युवा बैंक सम्बन्धी कार्यक्रम नगरसभामा प्रस्तुत गर्नु भएको थियो । यस्तै सहभागी नगरसभा सदस्यहरुले पनि नगरमा भएका समस्याहरुको बारेमा सुझाब प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका ५० जना युवाहरुलाई प्रशिक्षकद्वय रमेश कुमार पौडेल र श्यामकाजी श्रेष्ठले पहिलो दिन युवा जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हक सम्बन्धी अवधारणाको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

दोस्रो दिनमा नेपालमा युवा संसदको अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानिय योजना निर्माणका सात तहहरु र वस्तीस्तरको योजना निर्माणमा युवा क्लबको भूमिका, नगरसभा संचालन सम्बन्धी कार्यविधि तथा गाउँ(नगर सभामा पालना गर्नुपर्ने नियमहरुका विषयमा पनि प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको तेस्रो दिन भएको नमूना निर्वाचनमा ६१ प्रतिशत मत प्राप्त गर्दै अधिकारी हेटौंडाको पहिलो नमूना युवा मेयरमा निर्वाचित भएकी थिइन् भने नमूना उपमेयरमा पौडेल निर्वाचित भएका थिए । निर्वाचित मेयर, उपमेयर तथा नगरसभा सदस्यहरुले कार्यक्रमको चौथो दिन पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । नमूना युवा नगरसभाको अभ्याससँगै जिल्ला युवा समितिले महिलाहरुको लागि आत्मरक्षा तालिम समेत सम्पन्न गरेको छ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरका अध्यक्ष शिबहरि दाहालको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सभामुख श्रेष्ठले युवाहरुलाई भविष्यका कर्णधारसँगै बर्तमानको साझेदारका रुपमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । अब देशको बिकास निर्माण गर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको भन्नुहुँदै उहाँले यस्ता कार्यक्रमले युवाहरुलाई भोलीका दिनमा वास्तविक रुपमा नगरको जिम्मेवारी सम्हाल्ने क्रममा सहज हुने बिश्वास लिएको बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, कैलाश गाउँपालिकाको कार्यवाहक अध्यक्ष सुकुमाया थिङ्ग, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मा, संविधान सभा सदस्य शेर बहादुर पहरी, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, हेटौंडा- ४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा(२ का कार्यवाहक वडा अध्यक्ष महेश्वरमान श्रेष्ठ, हेटौंडा-५ का वडा सदस्य ज्ञान बहादुर थापानगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*