हेटौडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशका सबै मन्त्रालय र सरकारी तथा मातहतका अन्य कार्यालयहरुबाट नागरिकले सहजै सूचना पाउने वातावरण बनाइने बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा हेटौंडामा आयोजित सूचनाको हक प्रर्वद्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले संघीयताको मर्म अनुसार प्रदेशमा पनि प्रदेश सूचना पुनरावेदन समिति गठन गरिएको बताए । कार्यालय प्रमुखले आफ्नो कार्यालयको सूचना डेक्स प्रविधिमैत्री बनाउने, सूचना अधिकारीलाई आवश्यकताको आधारमा अन्य कामको बोझ कम गराउने लगायतका कार्यमा ध्यान दियौँ भने कार्यालयको सूचना प्रवाह प्रभावकारी हुने उनको भनाई छ ।
कार्यक्रममा प्रदेश सरकारले गठन गरेको सूचना पुनरावेदन समितिको संयोजक र सदस्यहरु सार्वजनिक गरिएको थियो । समितिको संयोजकमा हरिप्रसाद अधिकारी तथा सदस्यहरुमा सम्झना हुमागाईँ र कृष्ण थापा मगर रहेका छन् । कार्यक्रममा कानून मन्त्रालयका मदन शिवाकोटी र समितिका संयोजक अधिकारीले सूचनाको हकको विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए । सो अवसरमा विभिन्न कार्यालयका प्रमुख, सूचना अधिकारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।