नगरवासीलाई निशुल्क खानेपानी उपलब्ध गराउने वाचा पुरा: हेटौंडा नगरका प्रमुख र उपप्रमुख

हेटौंडा टुडे
१३ श्रावण २०७९, शुक्रबार १०:४४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका तर्फबाट गत स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बनेका मिना लामा र राजेश बानियाँले गरेका वाचाहरु मध्ये नगरवासीलाई निशुल्क खानेपानी उपलब्ध गराउने वाचा पुरा गरेका छन् । निर्वाचनमा गरेको वाचा अनुसार हेटौंडा उपमहानगरपालिकाले नगरभित्र मासिक १० हजार लिटरसम्म खानेपानी निशुल्क उपलब्ध गराउने भएको छ । बिहीबार उपमहानगरमा मेयर लामा, उपमेयर बानियाँ र १९ वटै वडाका अध्यक्षसहित खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी निशुल्क उपलब्ध गराउने निर्णय गरेको उपमेयर राजेश बानियाँले जानकारी दिए । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धाराहरूमा मात्र यो निणर्य लागु हुने उपमेयर बानियाँले बताए । हेटौंडामा २३ हजार ५ सय धाराको हकमा मात्र यस निणर्य लागू हुने उनको भनाई छ । यस सुविधाबाट नगरभित्रका झन्डै १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने दाबी गरिएको छ । खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*