हेटौडा । सीताराम कट्टेल रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् । फिल्म ‘सेन्टीभाइरस’ रिलिजसम्म धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलको कलाकारिताको गति एकनासले अघि बढिरहेको थियो । जब अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले उनको यो गति कतै अलमलियो । यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए । ‘रंगशालाको विषय टुंगिएपछि सिर्जनासँग काम गर्न वातावरण पनि चाहिन्छ । यसकै प्रतीक्षामा छु,’ उनले भने ।
धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत कमब्याक गर्न चाहन्छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा छन् । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।केही क्यारेक्टर बनाउँदै आएको छु । हामीले तयार गरिरहेका छौं र सार्वजनिक गर्छौं । मैले केही सर्ट फिल्ममा नयाँ पात्रमा काम गर्र्दैछु । अब बन्नेमा बिल्कुल फरक खालको क्यारेक्टर गर्छु,’ उनले भने, ‘अब हरेकमा फरक टेस्ट दिने प्रयास गर्छु ।’