हेटौडा । सातवटा प्रादेशिक अस्पताललाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अत्याधुनिक ‘ख’ वर्गका एम्बुलेन्स प्रदान गरेको छ । मन्त्रालयले बुधबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत ती एम्बुलेन्स प्रदान गरेको हो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले प्रदेशको भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईं स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिलाई ती एम्बुलेन्स हस्तान्तरण गरे ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले प्रदेशका सबै नगारिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन एम्बुलेन्सले सहयोग पुग्ने बताए । उनले प्रदेशका सबै भागमा स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै तत्काल सेवा नपुगेका नागरिकलाई एम्बुलेन्सको प्रयोगबाट भए पनि स्वास्थ्य सेवा भएका स्थानसम्म पुर्याउन सजिलो हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले सातवटा एम्बुलेन्स खरिद गर्दा तीन करोड ७० लाख ३० हजार लागत लागेको जानकारी दिए । उनले प्रतिएम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको बताए ।