हेटौंडा| स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा हाटबजार सञ्चालन हुने भएको छ । राक्सिराङ ५ स्थित चैनपुरमा नियमित हाट बजार सुरु गर्न लागिएको हो ।
चैनपुरमा भोलि फागुन १ गते कृषि हाट बजारको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । हरेक महिनाको १ र १५ गते कृषि हाट बजार सञ्चालन गर्ने योजनाका साथ सुरुवात गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । हाट बजारमा स्थानीय चेपाङ तथा तामाङ समुदायका परम्परागत खानेकुरा, रैथाने उत्पादन, गिट्ठा भ्याकुर, चिउरीको मह, गहत, मास, फापर जस्त स्थानीय उत्पादनको प्रवद्र्धन र खरिद बिक्री गरिने गाउँपालिका अध्यक्ष मल्लले बताए । रैथाने उपजहरुको प्रदर्शनी तथा विक्री वितरण, स्थानी खानाका परिकारका परिकार गरी २० वटा स्टल राखिनेछन् ।
हाट बजारको उद्घाटन समारोहमा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति, जातीय पहिचान झल्कने सांस्कृतिक झाँकी तथा नृत्य प्रदर्शन हुने हाट बजार व्यवस्थापन समितिका संयोजक सन्तोष थापाले जानकारी दिए ।