हेटौंडा|ग्यास सिलिन्डर विस्फोटपछि जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचाररत ८६ बर्षीया हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेटमा निधन भए अस्पतालकी निर्देशक डा। निजिना ताम्राकारले जानकारी दिइन् ।
अस्पतालका अनुसार हरिकलाको शरीरको ७० प्रतिशत भाग जलेको थियो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकलासंगै सांसद भण्डारी सख्त घाइते भएका थिए ।
बुधबार राति साढे १० बजे भएको उक्त घटनामा नेपाली कांग्रेसका नेता समेत रहेका सांसद भण्डारी घाइते भएका छन् । भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लैजान लागिएको हो । नेपालमा उपलब्ध स्रोत र साधनले उपचार सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।
चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।