स्ववियु निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङगरोगन र पोस्टर टाँस्न नपाइने

हेटौंडा टुडे
२६ फाल्गुन २०७९, शुक्रबार ११:००

हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।

त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ । आचारसंहितामा मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता संघ संगठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आरोप लगाइने किसीमका अभिव्यक्ति दिन नपाइने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

यसैगरी क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने उल्लेख छ ।

निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*