हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज आइतबार प्रस्तुत गर्दैछ । प्रदेश सरकाको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रदेश सभाको दिउँसो २ बजे बस्ने बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रस्तुत हुने कार्यक्रम तय भएको छ ।आज प्रस्तुत हुने नीति तथा कार्यक्रमको आधारमा बागमती प्रदेश सरकारले आगामी आवको बजेट ल्याउने छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि समावेशी, समानुपातिक सिद्धान्त र भूगोलका आधारमा कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने जनाएको छ ।
बुधबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभा बैठकमा पेस गरेका थिए । बुधबार र बिहीबार भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा प्रदेश सभाका सदस्यले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट आउनुपर्नेमा जोड थियो ।
उता प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि देशमा रहेको आर्थिक संकटलाई ध्यानमा राखेर आफ्नो पार्टीले दिएको सुझाबलाई समेटेर बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने माग राखेका थिए । बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै १२ वटा शिर्षकमा एक सय ६ वटा सुझाबहरु प्रस्तुत गरेको थियो ।