हेटौडा । मकवानपुर प्रहरीले आज बिहान अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, राटोमाटे चेकपोष्टबाट ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान ३ बजेको समयमा प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार साहले जुत्ताको नोकभित्र लुकाइछिपाइ ल्याएको उक्त रकम बराबरको ५६१-३० ग्राम सुन बरामद भएपनि निजलाई पक्राउ गरिएको हो ।
साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।