हेटौंडा| बागमती गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएको छ । २०८५ साल भित्रमा अनिवार्य तथा निःशुल्क शिक्षा पूर्ण कार्यन्वयन गर्ने सरकारको अभियान अन्तरगत पालिकाले बुधबार अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको हो ।
बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको हो । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्नेमा मकवानपुरको १० स्थानीय तहमध्ये बागमती गाउँपालिका पहिलो गाउँपालिका हो ।
पालिकामा ५० सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये पढाइ छाड्ने दर १० प्रतिशत र दोहोरिएर पढ्नेको दर ११ प्रतिशत रहेका छन् ।
पालिकाको शिक्षा तथा युवा खेलकुद शाखा संयोजक एवम् ३ नम्बर वडा अध्यक्ष कमान सिं पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन, अभिभावक चेतना कार्यक्रमअन्तर्गत् वडाहरुमा सडक नाटक प्रदर्शन समेत गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पुर्णबहादुर दर्जी, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुर प्रमुख दिनानाथ गौतम, उपाध्यक्ष फणिन्द्र तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, नेपाली कांग्रेसका शंकर पराजुली, बिद्यालय ब्यबस्थापन समिति महासघ बागमती गाउँपालिका अध्यक्ष बच्चु गोले खड्का, शिक्षक महासघ बागमती अध्यक्ष बसन्त राई, शैक्षिक जागरण मंचका अध्यक्ष बीरबहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।