सातामा शेयरबजारको गिरावट

हेटौंडा टुडे
२२ असार २०८०, शुक्रबार १६:४७

हेटौंडा| यो साताको शेयरबजारमा गिरावट आएको छ । सातामा कूल १०१ अंकले घट्दै नेप्से परिसूचक २०४९ अंकको विन्दुमा झरेको छ ।
अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो ।

यो साता पाँचै दिन सेयर बजार खुल्ला भएको थियो । तर, एक दिन मंगलबार (असार १९ गते) बाहेक बाँकी चारै दिन नेप्से सूचक घटेको हो ।

नेप्से सूचकमा गिरावट आएसँगै यो साता कारोबार रकममा समेत ठूलो गिरावट आएको छ । अघिल्लो हप्ता २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदै गर्दा यो साता घटेर १७ अर्ब ५१ करोड ५७ लाख रुपैयाँमा झरेको छ ।

यस्तै, अघिल्लो साता ३१ खर्ब ५० अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबर पुगेको धितोपत्र बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) यो साता घटेर ३० खर्ब ८ अर्ब ७२ करोड १० लाख रुपैयाँमा झरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*