हेटौडा। कान्तिपुर टेलिभिजनले पाठक र दर्शकहरुको व्यापक जनगुनासोपछि पल शाहलाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाएको छ ।
नाबालिग बलात्कारको आरोपमा जेलसजाय भोगेका पल शाहले आफ्नो जेलजीवनबारे गरेका ठट्टा र त्यसमा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीको अट्टहासपूर्ण हाँसो र मजाकको स्रोता तथा दर्शकहरुले सामाजिक सञ्जालमा व्यापक आलोचना गरेका थिए ।
नाबालिग बलात्कारको मुद्दालाई कान्तिपुर टेलिभिजनले मजाकको विषय बनाएको भन्दै व्यापक आलोचना भएपछि कान्तिपुर टेलिभिजनले प्रसारणको करिब २४ घन्टापछि सोमबार बेलुका उक्त इपिसोड युट्युबबाट हटाएको हो ।
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले यस विषयलाई गम्भीरतापूर्वक लिने बताएपनि सामाजिक सञ्जालमा कन्टेन्ट नै हटाउनुपर्ने भन्दै दबाब बढेको थियो ।
दबाब थेग्न नसकी कान्तिपुर टेलिभिजनले ६ लाख भन्दा बढीले हेरिसकेको उक्त कन्टेन्ट युट्युबबाट हटाउँदै महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धतासाथै एजेन्डा पनि भएको उल्लेख गरेको छ ।
कान्तिपुरले भनेको छ( गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ ।
पललाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाइयो
सेयर गर्नुहोस्