हेटौंडा| मकवानपुर प्रहरीले आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित राटोमाटेबाट अवैध भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
बिहान ५ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने उक्त स्थानबाट ३ लाख ७५ हजार रुपैयाँ भारतीय पैसासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देश भारत जिल्ला बेतिया थाना बैरिया ग्राम मियापुर दवौली–७ बस्ने वर्ष ४० को रमेश साह गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्र्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३–००१ ख २५१६ नं. को यात्रुबहाक बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट ३ लाख ७५ हजार रुपैयाँ भारतीय रकम (ने.रू.६,००,०००।–) फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जनाएको छ ।