हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खादा राक्सिराङ–२ औडारका स्थानीय २६ बर्षीय विकास चेपाङ्, ६ बर्षीय सन्तोष चेपाङ, २४ बर्षीय सुनीमाया चेपाङ, २७ बर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडा नम्बर दुईका वडाध्यक्ष बुद्धराम लामाले जनाएका छन् । विकास,सन्तोष र सुनीमाया एकै परिवारको भएको बुझिएको छ ।
च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले प्रष्ट खबरलाई बताएका छन् । सरिखेतमा सम्भव भएको औषधी उपचार गरिएको भएतापनि आइसियु सहितको थप उपचार आवश्यक पर्ने देखिएकोले सरिखेत स्वाथ्य चौकीबाट भरतपुर पठाइएको स्वाथ्य चौकीका प्रमुख कार्कीले जनाएका छन् । राक्सिराङमा च्याउ खाएर बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् भने धेरै गम्भीर बिरामी पर्ने गरेका छन् ।