हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं।५ का ४६ वर्षीय कुमार प्रजा र स्थानीय निर्मल भन्ने सानु बाबु रुम्बाबीच आर्थिक लेनदेन थियो । आर्थिक लेनदेन नमिलेपछि प्रजा र रुम्बाबीच बिवाद उत्पन्न भयो ।गएको भदौ ३ गते आइतबार प्रजाकी श्रीमती आईती माया चेपाङ्गले रुम्बाले आफ्नो श्रीमानलाई बेपत्ता गरी अपहरण गरेको हुन सक्ने भन्दै खोजतलास गरी आवश्यक कारवाही गरी पाउँ भनेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिईन् ।
प्रजाको श्रीमतीले उजुरी दिएपछि प्रहरीले उजुरीकै क्रममा पाएको हुलिया अनुसार खोजी कार्य अगाडि बढायो । प्रहरीले प्रजाको बारेमा गोप्य रुपमा अनुसन्धान गर्यो । अनुसन्धानको क्रममा प्रजाले श्रीमती तथा अन्य परिवारका सदस्यहरुसंग निरन्तर टेलिफोनमा कुराकानी गरेको तथ्य फेला पर्यो ।
प्रजा अपहरणमा परेको नभई लुकेर बसेको हुन सक्ने शंका प्रहरीलाई लाग्यो । उनी मकवानपुरको मनहरी गाउँपालिका वडा नं।४ नयाँबस्तीस्थित सुर्य बहादुर प्रजाको घरमा लुकेर बसेको भन्ने सुचना प्रहरीले पयो ।
इलाका प्रहरी कार्यालय मनहरीको टोलीले भदौ १० गते बिहान ५ बजे सुर्य बहादुरको घर नजिकै चर्जमा प्रजालाई फेला पर्यो । उक्त प्रहरी टोलीले आफै लुकिछिपी बसेर किन अपहरण भएको भनेर झुटो अफवाह फैलाउनु भएको भनेर सोधपुछ गर्दा प्रजाले अश्र्लिल शब्द प्रयोग गरी अभद्र ब्यवहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले बताए ।
आफै लुकिछिपी बसेर अपहरणको नाटक गरेका प्रजाले प्रहरीमाथि अभद्र ब्यवहार गरेपछि पक्राउ पुर्जी जारी गरी उनलाई नियन्त्रणमा लिईएको रिजालले बताए । जिल्ला अदालत मकवापनुरबाट म्याद थप लिएर उनीमाथि अभद्र व्यवहारमा कारवाही प्रक्रिया अगाडि बढाईने उनले बताए ।